एनपीएलले नेपाली क्रिकेटमा ल्याएको छलाङ र कर्पोरेट क्षेत्रको जिम्मेवार साथ

नेपाल प्रिमियर लिग (एनपीएल) ले फ्रेन्चाइज मोडलमा आधारित दोस्रो संस्करण सम्पन्न गरी नेपाली क्रिकेटमा नयाँ युगतर्फ डोहोर्‍याएको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) छोटो समयमै नेपाली खेलकुदमा छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । फ्रेन्चाइज मोडलमा आधारित एनपीएलको दोस्रो संस्करण भर्खरै सम्पन्न भएको छ । एनपीएल एउटा प्रतियोगिता मात्र नभई नेपालीहरूलाई एकताबद्ध गर्ने माध्यम पनि बनेको छ ।

त्यति मात्र होइन, खेलाडी उत्पादनका साथै उनीहरूलाई अवसर प्रदान गर्ने थलो बनेको छ । साथै लगानीकर्ताहरूका लागि लगानीको माध्यमसमेत बनेको छ । पहिलो संस्करणमा करिब ७० करोड रुपैयाँको कारोबार गरेको एनपीएलमा दोस्रो संस्करणमा झण्डै दोब्बर कारोबार भएको आकलन छ । एनपीएलले कर्पोरेट क्षेत्रलाई पनि चलायमान बनाएको छ ।

विश्वका स्टार क्रिकेट खेलाडीहरूको आगमन तथा विश्वचर्चित स्पोर्ट्स च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुनुले नै एनपीएलको चर्चा र प्रभाव कति छ भन्ने प्रष्ट हुन्छ । अर्को अर्थमा भन्नुपर्दा एनपीएलले नेपाली क्रिकेटलाई नयाँ युगतर्फ डोहोर्‍याएको छ । यसमा खेलको प्रतिस्पर्धा मात्र छैन, क्रिकेटले देखाएको सम्भावना, यसले सिर्जना गरेको रोजगारी अनि नेपाल राष्ट्रकै गौरवका रूपमा यसको पहिचान जोडिएको छ ।

नेपालमा क्रिकेट क्रेजबारे त सबै जानकार नै छन् । नेपाली समर्थकहरूको उत्साहका कारण क्यानले दुई पटक आईसीसी फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्डसमेत जितिसकेको छ । अब एनपीएलले नेपाली समर्थकहरूको त्यो उत्साहमा अझ इँटा थप्ने काम गरेको छ । यसले नेपाली क्रिकेटमा फ्रेन्चाइज क्रिकेटलाई संस्थागत गर्दै व्यावसायिकतातर्फ डोहोर्‍याउँदै अन्तर्राष्ट्रिय मञ्चमै चिनाउने काम गरिरहेको छ ।

 

गल्ली र चोकदेखि स्कुल, कलेज अनि राष्ट्रिय स्तरसम्म क्रिकेट त हुँदै आएको थियो । तर यो उत्साहलाई व्यवस्थित गर्दै दीर्घकालीन रूपमा अगाडि बढाउन चुनौती थियो । एनपीएलले भने त्यो चुनौतीलाई चिर्दै कम्तीमा नेपालमा पनि विश्वस्तरीय लिग आयोजना गर्न सकिन्छ भन्ने देखाएको छ । यसले क्रिकेटलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकिन्छ र व्यावसायिकतासँग जोड्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सकिन्छ भन्ने सन्देश दिएको छ ।

फ्रेन्चाइज मोडलमा आधारित लिग भएकाले एनपीएलले खेल मात्र नभई मनोरञ्जन प्रदान गर्ने, रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रमा टेवा पुर्‍याउनेदेखि राष्ट्रिय पहिचानलाई समेत जोडेको छ ।